सूर्यबहादुर प्रतिष्ठानद्वारा खेलाडीलाई सम्मान

सूर्यबहादुर प्रतिष्ठानद्वारा खेलाडीलाई सम्मान


सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटा स्थायी घर भएका १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा पूर्वप्रधानमन्त्री थापाको निवास मालीगाउँमा बिहीबार (३ मंसिर) आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा कराते प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई नगद तथा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

तीनै जनालाई प्रतिष्ठानले जनही रु २५ हजार प्रदान गरेको छ । उनीहरूलाई प्रतिष्ठानका अध्यक्ष एवं स्व. थापाका सुुपुत्र पूर्वमन्त्री सुनिलबहादुर थापाले पुरस्कार प्रदान गरे । सो अवसरमा थापाले सीमित साधन स्रोतका बाबजुद १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गर्दै नेपालको खेलकूद क्षेत्रको विकासका लागि प्रतिष्ठानले सहयोग गर्दै आएको बताए । पूर्वप्रधानमन्त्री थापाको धनकुटास्थित मुगा गाउँमा उनको नाममा सङ्ग्रहालय स्थापना गर्न खोजेको थापाको भनाइ थियो । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थापाले जानकारी दिए ।

प्रष्ठिानको स्थापना विसं २०७२ मा गरिएको हो । सुजलको कप्तानीमा १३औँ सागमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको थियो भने कुशल र ताराको प्रशिक्षणमा नेपालले करातेतर्फ १० स्वर्ण, चार रजत र पाँच कास्य गरी कूल १९ पदक जितेको थियो ।