काठमाडौं म्याराथन १३औँ संस्करणको तयारी पूरा

काठमाडौं म्याराथन १३औँ संस्करणको तयारी पूरा


प्रो स्पोर्टस्को आयोजनामा मंसिर ५ गते शनिबार हुने १३औं काठमाडौ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

काठमाडौ उपत्यकालाई म्याराथनमार्फत विश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सुरुवात गरिएको काठमाडौ म्याराथन १३औँ संस्करणसम्म आइपुगेको छ ।

डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजनको रुपमा लिइन्छ । अफ सिजनमा पनि नेपालमा पर्यटक भित्र्याउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्देश्यले यो वर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराइन् ।

काठमाडौं म्याराथनको १२औँ संस्करणसम्म सफलतापूर्वक सम्पन्न हुँदासमेत अहिलेसम्म सरकारी निकाय र उपत्यकाका स्थानीय निकायले अपनत्व नदिएको आयोजकले गुनासो पोखे । यस्तो अवस्थामा यो वर्ष प्रदेश नं. ३ सरकारले यसको जिम्मेवारी लिएको बताए ।

सो अनुरुप काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ कि.मि. खुला दौड, ५ कि.मि. छात्र तथा छात्रा दौड र ३ कि.मि. ह्विलचियर दौड रहेको छ । यसपटक पहिलो पटक युवाहरूलाई लक्षित गर्दै फेमिली रन पनि समावेस गरिएको छ । साथै नेपालमा पहिलोपटक टाइम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जानकारी गराएका छन् ।

समृद्ध नेपालको उच्च नारा लिएर हिँडेको सरकारले यो म्याराथनलाई प्रदेश ३ सरकारले अपनत्व ग्रहण गरेको म्याराथनका माध्ययमले नेपाललाई विश्व मञ्चमा पहिचान गराउँदै खेल पर्यटनमार्फत आर्थिक समृद्धिमा समेत टेवा पुऱ्याउन सहज हुने प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले पत्रकार सम्मेलनमा जाकारी गराए ।

विश्वका विभिन्न चर्चित र सफल म्याराथन जस्तै यो म्याराथनमा पनि अधिकभन्दा अधिक विदेशी खेलाडीहरुलाई सहभागि गराउँदै सोहि स्तरमा पुऱ्याउने उद्देश्यले विभिन्न देशमा प्रचारप्रसार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि ५ हजार खेलाडीहरु अपेक्षा गरिएको र हाल सम्म ५० बिदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राईले जानकारी गराइन् ।

म्याराथनलाई प्रदेश ३ सरकार र काठमाडौ महानगरपालिकाले ५/५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाइएको छ ।