काठमाडौं म्याराथनको उपाधि नरेन्द्र र कान्छीमायालाई

काठमाडौं म्याराथनको उपाधि नरेन्द्र र कान्छीमायालाई


१३औं काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ सेनाका नरेन्द्र सिंह रावत र महिलातर्फ एपिएफकी कान्छिमाया कोजुले हात पारेका छन् । उपाधिसँगैै उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार प्राप्त गरे ।

म्याराथनमा नयाँ नाम लेखउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन् । उनले सेनाकै वेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका थिए । वेदबहादुरले २ घन्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गरे । तेश्रो स्थानमा रहेका सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरे ।

महिलातर्फ कोजुले २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा दुरी पार गरिन् । कोजुको यो लगातार तेश्रो उपाधि हो । दोश्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनेट ०७ सेकेन्ड र तेश्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनट ४७ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरिन् । विजयी शीर्ष तीन खेलाडीहरुले मेडल, प्रमाण पत्र र नगद ५० हजार, २० हजार र १५ हजार प्राप्त गरे ।

प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुषतर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा हरि रिमालले १ घन्टा ११ मिनेट १३ सेकेन्डमा र तेश्रो स्थानमा रहेका सेनाकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डमा दुरी पूरा गरे ।

महिलातर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन् । उनले निर्धारित दुरी पुरा गर्न १ घन्टा २८ मिनेट ०३ सेकेन्ड लगाइन् । सेनाकै सानु माया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डका साथ दोश्रो र पुलिसकी रेखा बिष्टले १ घन्टा ३१ मिनेट ३४ सेकेन्डका साथ तेश्रो स्थान प्राप्त गरिन् । विजयी शीर्ष तीन खेलाडीहरूले २० हजार, १३ हजार र ७ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

५ किलो मिटर खुलातर्फ पुरुषमा एपिएफका अजित कुमार यादवले निर्धारित दुरी १७ मिनेट १९.७१ सेकेन्डमा पुरा गर्दै जित हात पारे । सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनेट ३०.६३ सेकेन्डमा पुरा गर्दै दोश्रो र शिब रायले १७ मिनेट ५३.२२ सेकेन्डमा पुरा गर्दै तेश्रो भए ।

महिलातर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन् । उनले निर्धारित दुरी २२ मिनेट ०३.४१ सेकेन्डमा पूरा गरिन् । यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनेट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनेट ३१.१० सेकेन्डमा पुरा गरे । बिजयी शिर्ष तीन खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ किलोमिटर मास्टरमा धर्म महर्जनले स्वर्ण हात पार्दा भीमबहादुर गुरुङले रजत र कपिल भट्टराईले कास्य पाए । महिलातर्फ अनु चित्रकारले स्वर्ण पाइन् । बिजयी खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

५ किमी छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका समिर रसाइलीले स्वर्ण, नेपालय एजुकेसन फाउन्डेशनका अमृत बोटले रजत र एभरेष्ट बोर्डिङ्गका नारायन कुमार कसवाले कास्य पाए । छात्रा तर्फ विजेशवरी ज्ञान मन्दिरका खेलाडीहरुले तीनै स्थान कब्जा गरे । सुलोचना बलामीले स्वर्ण, रचना रानामगरले रजत र सुनिता श्रेष्ठले कास्य पाए । उनीहरुले ५ हजार ३ हजार र २ हजार प्राप्त गरे ।

ह्विल चेयरको तीन कि.मि. दौडमा पुरुषतर्फ कृष्ण राज चौधरी प्रथम, सन्देश चौधरी द्वितीय र नरबहादुर दाहाल तृतिय भए । यस्तै महिला तर्फ यामी झाँक्री प्रथम, सर्मिला थोकर द्वितीय र ज्योती अर्याल तृतिय भए । उनीहरुले नगद ५ हजार, तीन हजार र दुई हजारका साथै मेडल प्रमाणपत्र प्राप्त गरे ।

यस्तै फेमिली रनतर्फ ३ कि.मि.को दौडमा पहिलो स्थानमा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा प्राप्ती आचार्य र चाँदनी कार्की तथा तेश्रो स्थानमा लेगिना घिमिरे र सुश्मिता तिमल्सिनाले हात पारे ।

विजयी खेलाडीहरुलाई प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, पूर्व सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाइनिङ पार्कका आभाष पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।