जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गर्ल्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गर्ल्सको चौथो संस्करण हो ।
माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । लाइसियमले सम्भावीलाई २–० ले हराउँदै तेश्रो भयो ।
कालोपुलस्थित एडभान्स स्कुलमा भएको गर्ल्सको उपाधि भिडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता ग¥यो । तेश्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो । दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गर्ल्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गर्ल्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गर्ल्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए ।
त्यस्तै ब्वाइजमा एडभान्सका अभिषेक मगर र गर्ल्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गर्ल्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गर्ल्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे ।
मंसिर ३० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गर्ल्समा समान १२–१२ सहभागी थिए ।
प्रतिक्रिया