एन प्याब्सन खेलकुद सप्ताहमा ग्यालेक्सीको वर्चस्व

एन प्याब्सन खेलकुद सप्ताहमा ग्यालेक्सीको वर्चस्व


तेश्रो एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्याडमिन्टनमा ग्यालेक्सी पब्लिक स्कुलको वर्चस्व कायम भएको छ । गल्र्स सिंगल्समा सबै पदक जितेको ग्यालेक्सीले गर्ल्स डबल्समा स्वर्ण र रजत हात पारेर वर्चश्व कायम गरेको हो ।

एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा निमा याङजी शेर्पा पहिलो, सेरा शेर्पा दोश्रो तथा शिवानी शाह र विधि क्षेत्री तेश्रो भए । गर्ल्स डबल्समा निमा र सेराको जोडीले स्वर्ण तथा शिवानी र विधिको जोडीले रजत जिते । दिब्यज्ञानका रिविका कुरेल र रोसेमा रिसाल तथा प्रोग्रेसिभका छोकेन शेर्पा र भूमिका सापकोटाको जोडी तेश्रो भए । सिनामंगलस्थित पञ्चकुमारी कभर्डहलमा भएको ब्याडमिन्टनको सिंगल्समा ३२ तथा डबल्समा ८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

ब्याडमिन्टनकै प्रिन्सिपल सिंगल्समा पिपुल्स एकेडेमीका रामबाबु सेढाईंले स्वर्ण, गोल्डेन गार्डेनका निलममणि भट्टराईले रजत तथा एजिएमका श्याम योञ्जन र सेन्ट जर्जका मनोज दाहालले कांस्य हात पारे । १२ प्रिन्सिपल सहभागी थिए ।

खेलकुद सप्ताहमा ब्याडमिन्टनसहित टेबलटेनिस, ब्वाइज फुटसल, सिनियर ब्वाइज बास्केटबल र ब्वाइज क्रिकेट गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो । सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजमा भएको फुटसलमा माउन्ट ओलिभ पहिलो, भीमेश्वर एकेडेमी दोश्रो तथा ग्रिनफिल्ड तेश्रो भए । ३२ टिमले भाग लिएका थिए । टेबलटेनिसमा आरुणीमा १९ अंकसाथ टिम च्याम्पियन बन्यो । ११ अंकमा ग्रिनफिल्ड दोश्रो तथा ९ अंकमा कान्तिपुर इङलिस एकेडेमी तेश्रो भएका थिए । बाफलस्थित ग्रिनफिल्डमा भएको टेबलटेनिसमा विभिन्न २८ विद्यालयका २ सय ३८ खेलाडी सहभागी थिए ।

सिनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्ड पहिलो, युनिभर्सल दोश्रो तथा कान्तिपुर तेश्रो भए । ग्रिनफिल्डका प्रशान्त थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । धुम्बाराहीस्थित युनिभर्सल माविमा भएको बास्केटबलमा २४ टिम सहभागी थिए ।

त्यस्तै टुँडिखेलमा भएको क्रिकेटमा कान्तिपुर पहिलो, ग्रिनफिल्ड दोश्रो तथा अंकुर तेश्रो बनेका थिए । सबै खेलका विजेतालाई शुक्रबार पुरस्कृत गरियो ।

जिल्ला शिक्षा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल, आयोजक एन प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष विष्णुप्रसाद पराजुली, आयोजकका अत्तिरिक्त कृयाकलाप प्रमुख खडगबहादुर बस्नेत, आयोजकका सचिव अमृतकुमार खड्का, आयोजकका प्रचार प्रसार विभाग प्रमुख गेन्द्र लामालगायतले चुच्चेपाटीस्थित भीएस कलेजमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।