इन्डोनेसियामा सवारी दुर्घटनामा २५ को मृत्यु

इन्डोनेसियामा सवारी दुर्घटनामा २५ को मृत्यु


बस दुर्घटनामा परी इन्डोनेसियामा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताले मंगलबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् । उद्धारकर्ताले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराइरहेको बताइएको छ । त्यसैगरी केही व्यक्ति बसमै च्यापिएको उद्धारकर्ताको भनाइ छ ।

घटनास्थलबाट जीवितै उद्धार गरिएका घाइतेलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना भएको अवस्थामा यस बसमा झन्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ ।
afp