एक वर्षदेखि जारी राजनीतिक खिचातानीका कारण राष्ट्रिय चुनौतीहरूको सिर्जना भएको र यसले देशको अर्थतन्त्रमा प्रभाव परेको बताउँदै तत्काल नयाँ सरकार गठन गर्न बेल्जियमका राजाले आग्रह गरेका छन् ।
क्रिसमसका अवसरमा मङ्गलबार (२४ डिसेम्बर) देशबासीका नाममा गरिएको सम्बोधनमा राजा फिलिपले राज्य सञ्चालनका लागि सन्तुलित निर्णय गर्न नयाँ सरकारको गठनमा ढिलाई नगर्न राजनीतिक दलहरूलाई निर्देशात्मक सुझाव दिएका हुन् ।
डच भाषा बोल्ने वामपन्थी र उत्तरी क्षेत्रका दक्षिणपन्थी समूहबीच व्यापक विभाजन हुँदा बेल्जियममा एक वर्षदेखि सरकारविहीन अवस्था रहेको छ । दुबै क्षेत्रका समुदायमा अतिवादी राजनीतिले प्रवेश पाउँदा राष्ट्रिय प्रशासनिक समस्या बल्झिएको हो ।
फ्रेन्च भाषामा गरिएको सम्बोधनमा राजाले भनेका छन्– ‘दलहरूले सामाजिक हितका लागि सम्झौता गर्दै भाषा र साम्प्रदायिक भावनाका कारण विखण्डित बनेको राजनीतिलाई सही दिशामा ल्याउनुपर्छ । क्षेत्रीय विवादका कारण राष्ट्रिय मुद्दा ओझेलमा परेको र यसलाई सरकार गठन गरी टुङ्ग्याउनुपर्छ । यसका लागि अब ढिलो गर्नु हुँदैन ।’
बेल्जियमका प्रमुख दुई राजनीतिक समूहबीच देखिएका आलोच्य गतिविधिप्रति दरबारको उक्त भनाई धार्मिक उत्सवका उवसरमा आएको हो । उनले धार्मिक आस्थाले मानवीय विवादलाई एकताका लागि अभिप्रेरित गर्ने भन्दै सम्पूर्ण क्रिश्चियन धमावलम्बीलाई क्रिसमसको शुभकामना दिएका छन् । उनले भने– ‘हामी महत्वपूर्ण समयमा छौँ । सामाजिक, आर्थिक र वातावरणीय नमूनामा बहस गर्नु जरूरी छ । साम्प्रदायिक तथा निम्न स्तरका मुद्दामा होइन । यो हामीले समर्पण गर्ने वेला होइन । सोचेर जिम्मेवार बनेर अघि बढौँ ।’
प्रतिक्रिया