चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको अवधि घटाइयो

चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको अवधि घटाइयो


विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अवधि घटाएको छ । एन्फाको अनुशासन समितिले विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरूमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए ।

एन्फाले चारै खेलाडीमाथि ५० हजार जरिवानासमेत गरेको थियो । प्रतिबन्धपछि उनीहरूले नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।