नेकपा (विप्लव) का दुई कार्यकर्ता पक्राउ

नेकपा (विप्लव) का दुई कार्यकर्ता पक्राउ


कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव‘ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले दिएको जानकारीअनुसार विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए–नभएको बारेमा खुल्न बाँकी रहेको छ ।

स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरूलाई गत सोमबार (७ पुस) पक्राउ गरेको हो । टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको मुद्दा गरी दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ ।