तुम्बाहाम्फेको राजीनामा शुक्रबार

तुम्बाहाम्फेको राजीनामा शुक्रबार


सत्तारुढ दल नेकपाले भावी सभामुखले टुंगो लगाउन नसकेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छैनन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल उपसभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिएपछि सभामुखको उम्मेदवार तय गर्ने मानसिकतामा रहेका छन् । तर, दुवै अध्यक्ष आफ्नो अनुकूलको व्यक्ति सभामुखका लागि अघि सार्ने मनस्थितिमा रहेका छन् ।

भोलि शुक्रबारबाट सभामुख चयनको प्रक्रिया शुरु हुने भएकोले उपसभामुख तुम्बाहाम्फेले भोलि नै राजीनामा दिने स्रोत बताउँछ । संसद सचिवालयले भने पुस १४ गते सोमबारका लागि सभामुख निर्वाचनको तालिका बनाएको छ ।

सरकार चलाउन आफ्नो अनुकूलको व्यक्ति सभामुखमा आओस् भन्ने चाहना प्रधानमन्त्री ओलीको छ । यसका लागि उनले सुवास नेम्वाङलाई अघि सारिसकेका छन् । पहिले सभामुखका बारेमा बोल्न मलाई प्रतिबन्ध छ भन्ने नेम्वाङ पनि ओलीकै इसारामा अबको सभामुख मै हुँ भन्न थालेका छन् । उता प्रचण्ड आफ्नो पुरानै खेमाको व्यक्ति सभामुख हुनुपर्ने अडानमा रहेका छन् ।

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि खाली रहेका दुई मन्त्री पदमध्ये एकमा उपसभामुख तुम्बाहाम्फेलाई व्यवस्थापन गर्नेमा दुई अध्यक्षबीच करिबकरिब सहमति भइसकेको स्रोत बताउँछ । बाँकी एक मन्त्री पद पूर्वमाओवादी खेमालाई दिएर नेम्वाङलाई सभामुख बनाउने कसरतमा ओली रहेका छन् । उता प्रचण्ड भने अग्नि सापकोटालाई सभामुखका अघि सार्दै सभामुख नछोड्ने मानसिकतामा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी वर्तमान उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने मानसिकतामा पहिले भए पनि अहिले उनलाई मन्त्री पद दिएर नेम्वाङकै पक्षमा उभिन पुगेपछि तुम्बाहाम्फे सभामुखको उम्मेदवारबाट रिङआउट हुन पुगेकी हुन् ।