अफगानी युद्धको दुष्परिणाम : एक दशकमा एक लाख नागरिक हताहती

अफगानी युद्धको दुष्परिणाम : एक दशकमा एक लाख नागरिक हताहती


अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी व्यक्तिको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसङ्घद्वारा बिहीबार जारी प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसङ्घले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८ वर्षे युद्धलाई अन्त्य गर्न आग्रह पनि गरेको छ ।

अफगानिस्तानका तालिवान विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेका समय संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्क जारी गरेको हो ।

गत सेप्टेम्बरमा तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको वार्ताका आधारमा एक सम्झौता गर्दै स्थायी शान्तिका लागि अघि बढ्ने भनाइहरू आइरहेका समय विद्रोहीले अमेरिकी सैन्य अधिकारीको मृत्यु हुने गरी काबुलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकतर्फी रूपमा वार्ता तत्कालका लागि भङ्ग भएको जानकारी गराइएको थियो ।

विद्रोही र सरकारबीचको निरन्तर झडपका घटनाबाट अफगानी सर्वसाधारणको मृत्यु हुने क्रम जारी रहँदा पुनः वार्ता शुरू भएको बताइएको छ ।

अफगानिस्तानमा कार्यरत राष्ट्रसङ्घीय उप–नियोगले विगत दश वर्षदेखि युद्धको तथ्याङ्क राखेको छ । अफगानिस्तानका लागि राष्ट्रसङ्घीय विशेष प्रतिनिधि तादामिची यामामोचोद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘दुःखको कुरा सर्वसाधारणको हताहती आज पनि रोकिएको छैन । एक दशकमा करिब एक लाखभन्दा बढी व्यक्तिले कि त ज्यान गुमाए कि पूर्ण रूपमा अपाङ्ग बने ।’

‘राष्ट्रसङ्घले अफगानिस्तानको शान्तिका लागि प्रयासरत सबैसँग आग्रह गर्छ कि उनीहरूले लाखौँ अफगानी सर्वसाधारणको कुरा सुनून् र शान्तिसँग बाँच्ने अधिकारको रक्षाका लागि ठोस उपलब्धि निकालुन् । खासगरी घाइतेसहित हजारौँ अफगानी सर्वसाधारणले अझै पनि आफ्नो जिन्दगीलाई पुनः निर्माण गर्न चाहन्छन् । यसका लागि पहल गरियोस् ।’

राष्ट्रपति असरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचनबाट विजय भएसँगै अमेरिका, अधिकांश तालिवान विद्रोही र सरकारबीच सम्झौताको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन् । एएफपीका अनुसार पहिले घानीप्रति सशङ्कित विद्रोही पनि पछिल्लो समय थाकेको र वार्ताका लागि इच्छा प्रकट गरेको देख्न सकिन्छ ।

राष्ट्रसङ्घका अनुसार यस वर्षको मध्यमा (जुलाई १ देखि सेप्टेम्बर ३० सम्म) अफगानिस्तानमा कम्तीमा एक हजार १७४ जनाको मृत्यु भएको छ भने तीन हजार १३९ घाइते भएका छन् । राष्ट्रसङ्घको तथ्याङ्कमा गत वर्ष अफगानिस्तान द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या निकै कहालीलाग्दो थियो । गत वर्ष तीन हजार ८०४ जना सर्वसाधारणले ज्यान गुमाए भने त्यसमध्ये ९२७ बालबालिका थिए ।