१२ वर्षीया दिनिशाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण

१२ वर्षीया दिनिशाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण


कराँते खेलाडी दिनिशा लामाले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्णपदक जित्न सफल भएकी छिन् । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसिपमा उनले स्वर्णपदक जितेकी हुन् ।

हालै ढाकामा सम्पन्न ४५ केजी तौलसमूहमा दिनिशाले फाइनलमा भारतीय खेलाडीलाई ४–१ पराजित गरिन् । पहिलो चरणमा बंगलादेश, सेमीफाइनलमा सिंगापुर र फाइनलमा भारतीय खेलाडीलाई पराजित गरीउनले स्वर्ण पदक जितेकी हुन् ।

त्रिज्योति उच्चमावि कपनमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया दिनिशाले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्णपदक जितेपछि खेलाडीकै रुपमा अगाडि बढ्ने हौसला मिलेको प्रतिक्रिया दिएकी छन् ।

दिनिशा कराँते प्रशिक्षक एवं एसियाली कराँते महासंघका अम्पायर दीपक लामाकी छोरी हुन् । दीपकले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अम्पायरको भूमिका निर्वाह गरेका थिए । दीपकले छोरीले हासिल गरेको सफलतामा खुशी व्यक्त गरेका छन् । उनले छोरीलाई अझ बढि मेहनत गराएर राष्ट्रिय खेलाडी बनाउने लक्ष्य राखेको बताएका छन् ।

दिनिशासँगै पाँच जना खेलाडीहरु ढाका गएकामा काता र कुमुतेमा गरी ६ स्वर्ण पदक र एक रजत गरी सात पदक लिएर नेपाल फर्किएको हो । चार राष्ट्रले सहभागी जनाएको प्रतियोगितामा नेपाल तेस्रो भएको छ । प्रतियोगितामा आयोजक बंगलादेशका १ सय, सिंगापुरका ४ र भारतका १७० खेलाडी सहभागिता रहेको थियो ।