१४औँ सागमा ७५ स्वर्ण जित्ने राखेपको लक्ष्य

१४औँ सागमा ७५ स्वर्ण जित्ने राखेपको लक्ष्य


राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकुदको पावर हाउसको रुपमा स्थापित गराउने बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको ‘१३औं हिसान कास्की स्पोर्टस् मिट–२०७६’ लाई सम्बोधन गर्दै राखेप सदस्यसचिव सिलवालले उक्त कुरा बताएका हुन् । उनले भने– ‘१३औं सागमा प्राप्त सफलतासँगै हामी १४औँ सागको तयारीमा योजनाबद्ध रुपमा जुटिसकेका छौँ, अबको सागमा हाम्रो लक्ष्य ७५ वटा स्वर्ण पदक हो ।’

हिसानका केन्द्रीय अध्यक्ष समेत रहेका सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मसम्मान बढाउनेतर्फ परिषदले ध्यान दिने बताए । उनले भने– ‘अहिले हामी जुन योजनाका साथ काम गर्ने सोच बनाएका छौँ, अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत नेपाललाई सक्षम रुपमा उभ्याउन सफल हुनेछ ।’

नेपालमा खेलकूद पूर्वाधार विकासले पनि अबको खेलकूदले गति लिने बताउँदै सदस्यसचिव सिलवालले खेलकुद सबैका लागि उत्पादनशील बनाउनेतर्फ पनि जोड दिएको बताए । सागको सफलता कठिन परिस्थितिमा समेत चुस्त व्यवस्थापनकै कारणले सफल भएको बताउँदै उनले अब पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूदलाई अझै भव्य बनाउनेतर्फ परिषद अघि बढेको दाबी गरे ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद हवको रुपमा विकास गर्न परिषदले आफ्नो तयारी थालेको बताउँदै सिलवालले तीन महिनाभित्र पोखराको मूहारनै फेर्ने गरी २० हजारको क्षमताको फुटबल स्टेडियम तयार हुने बताए । पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्यारापिट तथा पोखरा रंगशालामा नवौँ राष्ट्रिय खेलकूदका लागि हिटिङ स्विमिङ पूल समेत निर्माण हुने उनले जनकारी दिए ।

यहि माघमा आयोजना हुने राष्ट्रपति कप र उपराष्ट्रपति कप जस्ता खेलकुदका कार्यक्रमहरुलाई समेत नयाँ ढङ्गले अगाडी बढाउने उनको भनाई थियो । ग्रासरुट लेभलमा खेलाडी उत्पादनका लागि परिषदले विशेष जोड दिने उल्लेख गर्दै सदस्यसचिव सिलवालले ती प्रतियोगितामा विजेता खेलाडीलाई तीनमहिने प्रशिक्षण समेत गराइने जानकारी दिए ।

सो अवसरमा हिसान कास्कीले १३औं सागलाई भब्य रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सदस्यसचिव सिलवाललाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ । यसैगरी सागको सफल आयोजना गर्न भूमिका खेलेकोमा राखेप सदस्य राजेशकुमार गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङलाई पनि दोसल्ला ओढाएर हिसान कास्कीले सम्मान गरेको छ ।