महाधिवेशनको मिति तोकिएपछि काङ्ग्रेसमा बिग्रह बढ्ने सम्भावना

महाधिवेशनको मिति तोकिएपछि काङ्ग्रेसमा बिग्रह बढ्ने सम्भावना


अन्ततः नेपाली काङ्ग्रेसले १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ । शुक्रबार सानेपास्थित केन्द्रिय कार्यालयमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टी केन्द्रिय समितिको बैठकले आगामी २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा चौधौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप गर्दै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । बैठकले विधानबमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि २०७६ साल फागुन २० गतेदेखि लागू हुने गरी २०७७ साल फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरेको उनले बताए ।

महाधिवेशन कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७, जिल्ला अधिवेशन मङ्सिर २५ र प्रदेश अधिवेशन २०७७ साल पुस १५ गते हुनेछ । मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीका साङ्गठनिक संरचनालाई समायोजन र पुनर्गठन गर्नु परेको तथा नयाँ साङ्गठनिक संरचनाबाटै पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका कार्य सम्पन्न गरी वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समय आवश्यक पर्ने भएकाले एक वर्ष पदावधि थप गरिएको संस्थापन पक्षकोे तर्क छ ।

ज्ञातव्य छ, कांग्रेसको तेह्रौँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । त्यस आधारमा पार्टीको विधानअनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यको अवधि यही वर्षको फागुन १९ गतेसम्म कायम रहेको छ ।

बैठकले पार्टीको विधानअनुसार हाल विधानमा कायम २८ केन्द्रीय विभागको सङ्ख्यालाई बढाएर ४७ पु¥याउने निर्णय गरेको छ भने यस निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने रणनीति बनाइएको छ ।

बैठकले निर्णय गरेअनुसार सङ्गठन विभाग, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, स्थानीय तह समन्वय, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, पर्यटन, महिला, तरुण, विद्यार्थी, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग तथा व्यापार, निर्माण यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान विभाग रहेका छन् ।

यसैगरी, आदिवासी जनजाति, खेलकुद, प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, नेपाली जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय तथा सहकारी संस्था समन्वय, पिछडिएको क्षेत्र समन्वय विभाग गठन गर्ने निर्णय गरिएको छ । साथै, विज्ञान तथा सूचना प्रविधि, भूपू सैनिक, जिल्ला सम्पर्क समिति समन्वय, अन्य पार्टी सम्पर्क, आर्थिक नीति तथा योजना, शुभेच्छुक संस्था समन्वय, अन्य भ्रातृ सङ्घ समन्वय, थारू, आपूर्ति तथा उपभोक्ता, श्रम, भूमिहीन सुकुमवासी अव्यवस्थित बसोबास एवं मुक्तकमैया समन्वय, गैरआवासीय नेपाली समन्वय र पूर्वराष्ट्रसेवक समन्वय विभागसमेत गठन गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

उपरोक्त विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यको नियुक्ति विधानबमोजिम यथाशीघ्र गरिने कांग्रेसले जनाएको छ । बैठकले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

यस्तै, पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि विधानबमोजिमको अधिकार प्रयोग गरी विधानका केही दफालाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागिमात्र लागू हुनेगरी निलम्बन गरिएको छ । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले पार्टीको अन्तरिम संरचना समायोजन यही पुस मसान्तभित्र गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण अगामी माघ देखि २०७७ वैशाख मसान्तसम्म गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि तोकेको छ भने २०७७ साल असार १६ गतेदेख असार मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने, २०७७ साल साउन १५ गतेभित्र उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

बैठकले २०७७ साल श्रावण १५ गतेदेखि श्रावण मसान्तसम्म क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी/पुनरावेदन दिइसक्नुपर्ने, २०७७ भाद्र मसान्तभित्र उजुरी/पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने र २०७७ आश्विन मसान्तसम्म नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि तोकेको छ ।

यसरी संस्थापन पक्षले बैठक गरी विभिन्न निर्णय लिए पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्णयहरू आफूलाई स्वीकार्य नभएको जनाएका छन् । शुक्रबार पार्टी केन्द्रिय समिति बैठक बहिष्कार गरेका पौडेलले सबै निर्णयको विरोध गर्दै यस किसिमको रवैयाले पार्टीभित्र थप विमति र विभाजन सिर्जना हुने प्रतिक्रिया दिएका छन् । सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रिय सदस्यहरुको मात्रै उपस्थितिमा लिइएको निर्णय सहमतिविपरित भएको उनको जिकिर छ । आफूहरुले मंसिर महिनाभित्रै महाधिवेशन गर्ने सुझाब दिए पनि देउवाले बहुमतको आडमा फागुनमा गर्ने निर्णय गरेको भन्दै पौडेलले असन्तुष्टि प्रकट गरेका हुन् ।

pict:rss