सितोरियो करातेको कायापलट हुने -श्रीविक्रम भण्डारी

सितोरियो करातेको कायापलट हुने -श्रीविक्रम भण्डारी


अध्यक्षमा दावा गुरुङ
नेपाल सितोरियो कराते- डो सङ्घको पहिलो साधारणसभाले दावा गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । उक्त साधारणसभाले मजेन्द्रबहादुर सिंह, देवकुमार लामा, केशवसिंह ठकुरी, प्रकाशमोहन धौभडेल, गजेन्द्रबहादुर खपाङ्गी (इश्वर), रामकुमार थारू, धर्मेन्द्रबहादुर लामा -डीबी), रेशमलाल लामा तामाङ, मिङ्मा तामाङ शेर्पा, राधिका देउला, भानु यादव, तीर्थराज श्रेष्ठ, चित्रबहादुर राना, शैलेश बास्कोटा, राजु थापा तथा इन्द्र बज्राचार्य सदस्यमा चयन गर्‍यो । बन्दसत्रमा सर्वसम्मतिले पारित सङ्घको विधानअनुसार यिनै १६ जना सदस्यमध्ये पाँचलाई उपाध्यक्ष -वरिष्ठसहित) तथा एक-एकलाई महासचिव, सचिव र कोषाध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यसमितिले प्रदान गर्नेछ । साधारणसभामा १२ अञ्चल, ६५ जिल्ला, ११ डोजो र १६ जना केन्द्रका गरी जम्मा १७० प्रतिनिधि सहभागी जनाएका थिए ।
केन्द्रीय कार्यसमितिको सोही समयमा बसेको बैठकले राखेप सदस्यसचिव युवराज लामालाई सङ्घको संरक्षक, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ र सभासद् चन्द्रबहादुर थापा -सागर) लाई केन्द्रीय सदस्य तथा एसियाली प्यासिफिक सितोरियो कराते- डो फाउन्डेसनका प्रमुख प्राविधिक निर्देशक एवम् सिंगापुरका प्रशिक्षक सिहान वाङ डोङ सेङलाई प्राविधिक सल्लाहकारको प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको थियो । साथै साधारणसभाको बन्दसत्रमा जिल्ला, अञ्चल र क्षेत्रमा प्रमुख प्रशिक्षक तोक्न, प्राविधिक बोर्ड गठन, निर्णायक विभाग गठन, वैदेशिक विभाग गठन, आर्थिक विभाग गठन, डोजो समन्वय विभाग गठन, प्रतियोगिता विभाग गठन, स्कुल तथा कलेज र विश्वविद्यालय विभाग गठनलगायतका लागि निर्देशिका बनाई कार्यान्वयन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा सर्वसम्मतिले पारित गरेको थियो ।
सदस्यसचिव लामाले नयाँ नेतृत्वको चयनसँगै विगतमा करातेको नाममा भ्रष्टाचार गर्ने राष्ट्रिय ठगहरूलाई बिदा गरेको बताउँदै करातेका खेलाडी र प्रशिक्षकलाई कुनै भ्रममा नपरी आ-आफ्नो जिम्मेवारी वहन गर्नेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा लामाले कराते र सितोरियोमा भएको अराजकताको अन्त्य भएको बताउँदै स्वस्थका लागि कराते र राष्ट्रका लागि कराते भन्ने नाराका साथ अबको दिनमा करातेलाई गर्विलो बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । नवनिर्वाचित अध्यक्ष गुरुङले करातेको विकास र विस्तारका लागि साधारणसभाले पारित गरेको कार्यनीतिलाई पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै आफूलाई जुन विश्वासका साथ नेतृत्व दिइएको छ त्यसलाई पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । गुरुङले विगतमा करातेमा झाँगिएको विकृति र विसङ्गतिलाई पूर्णरूपमा समाप्त पार्ने र करातेलाई नयाँ मार्गमा डोर्‍याउने वाचा गर्नुभएको थियो । गुरुङले निर्वाचनले करातेको विकासमा नयाँ आयाम थपिने विश्वास प्रकट गर्दै भविष्यमा कराते अन्तराष्ट्रमा पदक दिलाउने नम्बर एक खेल बन्ने पनि दाबी गर्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई सदस्यसचिव युवराज लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत एवम् खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।

अन्तर्राष्ट्रिय तेक्वान्दो ः नेपाल सर्वोत्कृष्ट सावित
हालै सम्पन्न भएको प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा समावेश १४ स्पर्धामा नेपाली खेलाडीले सबै समूहमा पदक जित्दै नेपाललाई ६ स्वर्ण र आठ रजत दिलाएका थिए । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन महिला खेलाडी यानकुमारी चौलागाईं र मनिता शाहीले स्वर्ण पदक जितेका थिए । महिलाको ४६ केजी तौल समूहमा नेपालकी यानकुमारी चौलागाईंले भारतकी सविना सुन्दास र ५७-६२ केजीमा मनिता शाहीले मलेसियाकी मज्नाह विनित समदलाई पराजित गरेका थिए ।
दोस्रो दिन पाँच समूहमा भएको प्रतिस्पर्धामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचैजनाले फाइनलमा स्थान बनाए पनि फाइनल प्रतिस्पर्धा भने नेपालको लागि निराशाजनक रहेको थियो । दोस्रो दिन आयशा मात्र स्वर्ण पदक जित्न सफल भएकी थिइन् । आयशाले ४९-५३ केजी तौल समूहमा अमेरिकाकी जज्मिन पगुइरिगनलाई पराजित गरी नेपाललाई तेस्रो स्वर्ण दिलाएकी थिइन् । अन्य चार खेलाडीले भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो ।
अन्तिम दिन पुरुषको ५८-६३ केजीमा नेपालका सुजन जोशीले पहिलो स्वर्ण पदक जितेका थिए । उनले फाइनलमा मलेसियाका रस्फ्रेडी टोकनलाई पराजित गरेका थिए । त्यस्तै पुरुषको ६८-७४ केजीमा नेपालका अनोज पुजारीले बंगलादेशका मोहम्मद अन्वर हुसैनलाई निराश पार्दै नेपालको खातामा पाँचौँ स्वर्ण पदक थप्न सफल भएका थिए । महिलातर्फको ४६-४९ केजीमा अप्सरा कार्कीले मलेसियाकी नूर हाना हो डाइकलाई पाखा लगाउँदै अर्को स्वर्ण पदक थपेकी थिइन् ।
नेपाल तेक्वान्दो सङ्घ र अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ -इन्टा) द्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा नेपालले अन्तिम दिन तीन स्वर्ण जितेपछि उपाधि घरमै राख्न सफल भएको थियो । नेपालभन्दा एक स्वर्ण कम जितेको मलेसिया पाँच स्वर्ण, तीन रजत र दुई कास्य साथ दोस्रो स्थानमा सीमित भयो । तेस्रो भएको अमेरिकाले दुई स्वर्ण, एक रजत र तीन कास्य जितेको थियो । बंगलादेश एक स्वर्ण, एक रजत र चार कास्य जित्दै चौथो स्थानमा रहन सफल भएको थियो । त्यस्तै भारतले एक रजत र सात कास्य, हङकङले चार कास्य, पाकिस्तानले तीन कास्य तथा क्यानडा र दक्षिण कोरियाले समान एक-एक कास्य हात पारेका थिए ।