दुई भुटानी राजबन्दी रिहाइको स्वागत

दुई भुटानी राजबन्दी रिहाइको स्वागत


  • द हेग, नेदरल्याण्ड्स

भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई १ जुन २०२६ मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ। भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ ।

‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, तथा ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो । यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तरराष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ’, जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले भनेका छन् ।

यद्यपि, भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाईसँगै उत्पन्न भएको गम्भीर मानवीय अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेको छ । रिहापछि पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवैलाई नेपाल प्रवेश गर्न अनुमति दिइएन । उनीहरू भारत-नेपाल सीमास्थित पनितान्की क्षेत्रमा अलपत्र परे र अन्ततः भुटान फर्किन बाध्य भए । हाल उनीहरू भारतमा आफन्तहरूको संरक्षणमा अस्थायी रूपमा बसिरहेका छन् । यो घटनाले राज्यविहीनता र जबर्जस्ती विस्थापनको जोखिम झेलिरहेका पूर्व राजनीतिक कैदीहरूका लागि दीर्घकालीन र मानवीय समाधानको तत्काल आवश्यकता औंल्याएको छ, विज्ञप्तिमा भनिएको छ।

जीसीआरपीपीबीले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई तामाङ र हस्तबहादुर राईलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति गम्भीर असहमति व्यक्त गरेको छ । ‘उनीहरूलाई न औपचारिक परिचयपत्र दिइयो न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त उनीहरूको कानुनी हैसियत पुष्टि गर्ने अन्य कुनै आवश्यक कागजात नै उपलब्ध गराइयो । यसले उनीहरूलाई थप असुरक्षित बनाएको छ र संरक्षण, मानवीय सहायता तथा स्वतन्त्र आवतजावतको अधिकार उपभोग गर्न कठिनाइ सिर्जना गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तरराष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।

‘जीसीआरपीपीबी’ले भनेको छ- ‘दुई राजनीतिक कैदीको रिहाईलाई महत्वपूर्ण मानवीय कदमका रूपमा स्वागत गरिए पनि हाम्रो अभियान अझै समाप्त भएको छैन । भुटानका कारागारहरूमा रहेका बाँकी २८ राजनीतिक कैदीहरू रिहा नभएसम्म हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हामी उनीहरूको तत्काल र बिना शर्त रिहाइको माग दोहोर्‍याउँदै यस दीर्घकालीन मानवअधिकार मुद्दाको न्यायोचित र मानवीय समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दछौं ।’