पोखरा–१३ का ‘तरुण’हरूले केपी र प्रचण्डलाई लगाए यस्तो आरोप

पोखरा–१३ का ‘तरुण’हरूले केपी र प्रचण्डलाई लगाए यस्तो आरोप


नेपाल तरुण दल पोखरा–१३ को एक कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ । पोखरा–१३ मा क्रियाशील कार्यकर्ताबीच भेटघाट तथा छलफल कार्यक्रममा गुट–उपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो ।

शनिबार आयोजित सभामा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको बताए । तरुण दल कास्कीले निर्वाचनमा आफ्ना उम्मेदवारलाई सुरक्षामा कुनै कमजोर नबनाएको उनको दाबी थियो । अध्यक्ष गुरुङले इकाई समितिले नियमित भेटघाट र छलफललाई जारी राख्दै पार्टीमा धोका दिने कसैलाई पनि नछोड्न निर्देशनसमेत दिए ।

तरुण दल पोखरा–१३ का अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता किशोरदत्त बरालले उत्साह र हौसलालाई उद्देश्यमा परिणत गर्दै तरुण दलले समाज रुपान्तरणमा ध्यान दिने समय आएको बताए । पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले कांग्रेसलाई उत्साह थप्ने भनेकै भातृसंस्था भएकाले पोखरा–१३ को तरुण दलबाट सबैले सिक्नुपर्ने तर्क गरे ।

उनले पार्टीलाई कमजोर बनाउन अनेक तत्व सक्रिय भएकाले गुटउपगुट छोडेर सिंगो कांग्रेस बन्न क्रियाशील सदस्यलाई आग्रह गरे । पार्टीमा हुने विवादलाई गुट–उपगुटको संज्ञा नदिई विचार समूह भन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा नेता पुलेन्द्रमान श्रेष्ठले कमजोरी मनन् नगर्दासम्म पार्टीको भविष्य सुधार हुन नसक्ने उल्लेख गर्दै नेतामुखी नबन्न कार्यकर्तालाई आग्रह गर्नुका साथै कम्युनिस्ट चरित्र ग्रहण नगर्न सुझाव दिए ।

तरुण दल पोखरा–१३ का सचिव भुवन बरालले सञ्चालन गरेको कार्यक्रममा नेका पोखरा–१३ का सभापति विष्णुप्रसाद बरालले क्रियाशील सदस्य दिने बेलामा छनोट प्रक्रिया सुधार गर्नु पर्ने बताए । उनले ४ सय क्रियाशील सदस्य रहेको पोखरा–१३ मा महाधिवेशन प्रतिनिधिका लागि नेता बन्ने होडले विपक्षी दलका कार्यकर्ताको नामसमेत पार्टीमा समावेश भएकामा चिन्ता व्यक्त गरे । उनले विपक्षी दललाई पार्टीको कुरा लगाउनेहरूको पहिचान भइसकेकाले अब नछोडिने चेतावनी दिए ।

कम्युनिस्टले गरेको संस्थागत भ्रष्टाचारलाई खबरदारी गरिनु पर्नेमा जोड दिँदै सभापति विष्णुले तरुण दल कास्कीले पोखराको हिमा गृहलाई कम्युनिस्टले आम्दानीको भाँडो बनाउन खोजेको आरोप लगाउँदै गोकर्ण रिसोर्ट हुनबाट जोगाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा कांग्रेस नेता बेदनाथ बराल, महिला संघ पोखरा–१३ की सभापति रमा कार्की, तरुण दल जिल्ला उपाध्यक्ष दीपक गुरुङ, स्वास्थ्य कर्मी संघका प्रदेश अध्यक्ष नारायण बराल, नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बराल लगायतले पार्टीलाई बलियो बनाउने अभियानमा कसैले कमजोरी गर्न नहुने धारणा राखेका थिए ।

छलफलमा सरकार अधिनायकवादतर्फ लम्केको बताउँदै कम्युनिस्ट कार्यकर्ता बने मुलुक बन्छ भन्ने धारणाअनुसार प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल लागिपरेको आरोप लगाए ।