रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ ।
ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्रवरपर राखिने सङ्केत गरेका थिए भन्दै एएफपीले समाचार सम्प्रेषण गरेको छ ।
रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्ने र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको दाबी गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको दाबी गरेका छन् ।
ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।
रूसी नेता पुटिनले गत मङ्गलबार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । ‘अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैन, क्षेप्यास्त्रको कुरै छाडौँ’– पुटिनको तर्क छ ।
अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरिएको भएपनि यसलाई जडान गरिएको थिएन । अन्तरमहादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने बताइएको छ ।
प्रतिक्रिया