रंगशाला निर्माणमा प्रहरी श्रमदान शुरु

रंगशाला निर्माणमा प्रहरी श्रमदान शुरु


भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा दुई सयको संख्यामा पुगेर प्रहरीले रंगशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो ।

‘प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ,’ प्रहरी उपरीक्षक मल्लले भने, ‘रंगशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ । रंगशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार छौँ ।’ प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुंगा भर्ने काम गरिरहेको छ ।

रंगशालामा बन्ने सबैभन्दा ठूलो रंगशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रंगशालाको ‘स्वेलिङ’को काम सकिएर डीपीसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

कट्टेलका अनुसार निर्माणमा खर्चको आधारमा रकम संकलन गर्न सकिएको छैन । रंगशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ । रंगशालाको काम युद्धस्तरमा बढेको छ । दैनिक रु. १० लाख खर्च लाग्ने गरी काम अघि बढाइएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रंगशालको काम तीव्र रूपमा अघि बढिरहेको छ । निर्माण कार्यले गति लिएपछि रंगशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुसाल बताउँछन् । रंगशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउन्डेसनले व्यवस्था मिलाएको छ ।
rss