लिबियाली सर्वसाधारणको रक्षाका लागि आग्रह

लिबियाली सर्वसाधारणको रक्षाका लागि आग्रह


संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले आइतबार लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ । ‘लिबियाली नागरिक तथा आप्रवासी शरणार्थीलाई हिरासतमा दुव्र्यवहार भएको र आयोगको यस तथ्यप्रति ध्यानाकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारको सम्मान गर्न अनुरोध गर्छ,’ आयोगले एक विज्ञप्तिमा भनेको छ ।

यूएनएचसीआर त्रिपोलीदेखि ४५ किलोमिटर टाढा जाबिया सहरमा रहेको आन्तरिक शरणार्थी शिविरमा हालै भएका हवाई आक्रमणप्रति पनि चासो व्यक्त गरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रबाट भागेर शरण लिन पुगेका लिबियाली नागरिकलाई पक्राउ गरिएका सबैलाई कानूनसम्मत तरिकाले रिहा गर्नसमेत यूएनएचसीआरले आग्रह गरेको सिन्ह्वाले जनाएको छ । राष्ट्रसङ्घीय उक्त संस्थाले आवश्यकतानुसार शहरी क्षेत्रमा रिहाइका लागि सहयोग गर्न आफू तयार रहेको उदघोष गरेको छ ।

यूएनएचसीआरले लिबियामा पछिल्लो समय सर्वसाधारणको सुरक्षामाथि चुनौती खडा भएको र निर्दोष व्यक्तिहरू पनि पक्राउ परेका वा मारिएका भन्दै मानवीय सुरक्षामा संवेदनशील बन्न सरकारलाई आग्रह गरेको हो ।

लिबियामा सामुद्रिक क्षेत्रबाट पक्राउ गरिएका आप्रवासीहरू समेतलाई राखिएकोले लिबियाली शिविरहरूमा क्षमताभन्दा बढी भीड रहेको छ ।

लिबियामा गत अप्रिलदेखि भएका सैन्य कारबाहीमा हजारौँ मानिस मारिएका छन् भने एक लाख २० हजार व्यक्ति बस्तीबाट विस्थापित बनेका छन् ।