युक्रेनसँग डोनेट्स्क र लहान्स्क विद्रोहीबीच कैदी आदानप्रदान

युक्रेनसँग डोनेट्स्क र लहान्स्क विद्रोहीबीच कैदी आदानप्रदान


युक्रेन र रूस पक्षधर डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच आइतबार कैदी आदान प्रदान भएको छ । युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै केही समय पहिले पृथक भएका डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच फ्रान्सको राजधानी पेरिसमा भएको उच्चस्तरीय वार्ताको आधारमा कैदी आदानप्रदान भएको हो ।

युक्रेन र पृथकतावादी समूहबीच एकआपस करिब २०० कैदीको आदानप्रदान भएको युक्रेनी राष्ट्रपतिको कार्यालयको फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अवसरमा युक्रेनतर्फका ७६ जना कैदी फिर्ता गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै विद्रोहीले आफ्ना नेता, कार्यकर्ता र लडाकू गरी जम्मा १२४ जनालाई फिर्ता पाएको जनाएका छन् ।

युक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको मागसहित सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्ने कुरा शनिबार सार्वजनिक गरिएको थियो ।

पेरिसमा भएको उच्चस्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चालिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । युक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई युक्रेनबाट स्वतन्त्र बनाउने लडाइँ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको युक्रेनको दाबी छ ।

ज्ञातव्य छ, केही हप्ता पहिले रूस र युक्रेनबीच पनि केही कैदी आदानप्रदान भएको थियो ।