सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा


संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिने गरी भएको आतङ्ककारी कारवम विष्फोटको निन्दा गरेको छ । गत शनिबार (२८ डिसेम्बर) भएको उक्त आत्मघाती कार बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै किसिमका आतङ्कवाद र घटनाले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ । आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ ।’

परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ । परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिबद्धता पुनः प्रकट गरेका छन् । आक्रमणले परिषद्को प्रतिबद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको सिन्ह्वाले जनाएको छ ।

शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो ।