नेपाली कांग्रेसको बैठक बिहीबार

नेपाली कांग्रेसको बैठक बिहीबार


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

यसैबीच किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएको प्रति कांग्रेस संसदीय दलको कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेका भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेको उल्लेख गरेको छ ।

समयमै रकम भुक्तानी नपाउँदा किसानमाथि अन्याय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा मंगलबार (१५ पुस) जारी विज्ञप्तिमा जनाइएको छ ।

‘उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो । उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनरत किसानका मागलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दलले माग गरेको छ ।