देउवाको दरबारमा मध्यरातमा बैठक

देउवाको दरबारमा मध्यरातमा बैठक


सत्तापक्षीय बन्ने तीव्र चाहनाका साथ जातीयता एवम् क्षेत्रीयतामा विश्वास गर्ने समूहसँग टाँसिन पुगेका डा. बाबुराम भट्टराई र त्यस समूहका ‘प्राकृतिक’ नेता उपेन्द्र यादवमा अचानक छटपटी बढेको छ । नेकपा र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिपछि यादव र भट्टराईमा छटपटी बढेको हो ।

सत्ता छोड्दा आफूलाई रौतहट नरसंहार काण्डमा फसाइन सक्ने भन्दै त्राहीमाम भएर बसेका उपेन्द्र यादवले प्रचण्डको सुझावपछि गत साता कानूनमन्त्री पदबाट राजीनामा दिएका थिए । अब सरकारमा राजपालाई समावेश गरिन्छ र उपेन्द्र यादवलाई अपमानजनक ढङ्गबाट हटाइन्छ भन्दै प्रचण्डले राजीनामा दिन सुझाएपछि यादवले सरकार छोड्ने निर्णय लिएको बुझिएको छ । सत्ताबाट बाहिरिएलगत्तै बाबुराम भट्टराई र उपेन्द्र यादवले तराईमा ‘आगो बाल्ने’ धम्की दिएका छन् ।

‘आगो बाल्न’ तराईतिर झर्नुअघि पुस ११ गते शुक्रबार साँझ बाबुराम र उपेन्द्र बुढानीलकण्ठस्थित शेरबहादुरको दरबारमा पुगेका थिए । उनीहरूबीच मध्यरातसम्म रणनीतिक योजनाबारेमा गम्भीर बहस–छलफल भएको थियो । सो गुप्त बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराईका अतिरिक्त जातिवादी अगुवा राजेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

त्यस्तै काङ्ग्रेसका तर्फबाट शेरबहादुर देउवा र विमलेन्द्र निधि बैठकमा सहभागी भएका थिए । उनीहरूबीच केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न मधेश आन्दोलन चर्काउने, नेकपाका प्रचण्डलाई केपीविरुद्ध उपयोग गर्ने, केपीलाई घेराबन्दी गर्न मोर्चाबन्दी गर्ने, प्रजातान्त्रिक शक्तिहरूबीच गठबन्धन बनाउने र राष्ट्रिय सभाको निर्वाचनमा दुई दलबीच चुनावी एकता गर्ने विषयमा लामो छलफल चलेको थियो ।

त्यस्तै राजपालाई सत्तामा जानबाट जसरी भए पनि रोक्नुपर्ने धारणा उपेन्द्र यादवले राखेकोमा सहभागी सबैले सहमति जनाएका थिए । यादवले राजपाका महेन्द्र यादव आफ्नो मुठ्ठीमा भएको जानकारी गराउँदै उनको समर्थनमा रहेका दुई प्रदेश सभा सदस्यको मत आफूहरूलाई आउने विश्वास पनि देउवालाई दिलाएका थिए । राति करिब साढे एघार बजेसम्म चलेको भोजनसहितको सो बैठकमा बाबुराम भट्टराई अत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए भने उपेन्द्र यादवमा चिन्ताभाव ज्यादा देखिएको थियो ।