इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीले आलोचना गरेका छन् । खामेनीले अमेरिकी आक्रमणपछि पहिलोपटक प्रतिक्रिया दिँदै अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गरेका हुन् ।
‘इरानी सरकार, देश र मैले अमेरिकी गलत कार्यको कडा शब्दमा निन्दा गर्दर्छौँ,’ खामेनीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा हसेद अल–शाबी एक समूहमाथि केही दिन पहिले भएको घातक अमेरिकी हमलाको उल्लेख गर्दै भनेका छन् ।
पश्चिमी इराकमा गरिएको एक आक्रमणमा उत्तरी इराकको एक सैन्य अड्डामा गत शुक्रबार एक अमेरिकी नागरिक ठेकेदारको मृत्यु भएको थियो । बदलामा अमेरिकाले हवाई आक्रमण गर्दा करिब २५ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए ।
यसको विरोधमा उत्रिएका इराकी नागरिकको एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो ।
बग्दादस्थित अमेरिकी दूतावासमा एक प्रदर्शनकारी समूहले आक्रमण गरेको र यस घटनामा इरानी सत्ताको घुसपैठ भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (१ जनवरी) इरानमाथि आरोप लगाएका थिए ।
अमेरिकी राष्ट्रपतिको ट्वीटर सन्देशप्रति प्रतिक्रिया जनाउँदै खामेनीले भने, ‘ती व्यक्ति (राष्ट्रपति ट्रम्प) ले संयुक्त राज्य अमेरिकाले बग्दादमा भएको घटनाको लागि इरानलाई जिम्मेवार देख्ने बताएका छन् र भनेका छन् हामी इरानलाई जवाफ दिनेछौँ ।’
खामेनीले भने, ‘पहिलो, तपाई केही गर्न सक्नुहुन्न । दोस्रो, तपाई तार्किक हुनुहुन्न, यदि तार्किक हुनहुन्थ्यो भने तपाईले थाहा पाउनु भएको छ कि इराक, अफगानिस्तानमा तपाईको अपराधले ती राष्ट्रहरुले तपाईलाई घृणा गरेका छन्,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।
AFP
प्रतिक्रिया