लेबनानको न्यायालयले जापानी प्रसिद्ध कार कम्पनी निसानका पूर्वप्रमुख काल्लोस गोउनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) द्वारा पठाएको ‘रेड नोटिस’ (सूचना) बिहीबार बुझेको लेबनानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
गोउनलाई जापानको अदालतले केही महिना पहिले उनको जापानस्थित घरमा नै राख्न सक्ने गरी धरौटीमा रिहा गरिएको थियो । गोउनमाथि निसानमा रहँदा लागेको आर्थिक अपचलनसम्बन्धी मुद्दा जापानी अदालतमा सुनुवाईकै क्रममा रहेको छ ।
निसानका पूर्वप्रमुख गोउन जापानबाट टर्की हुँदै गत सोमबार लेबनान पुगेका थिए । उनको लेबनान, ब्राजिलका साथै फ्रान्सको नागरिकता रहेको छ । आफ्नो बाल्यकाल लेबनानमा बिताएका प्रसिद्ध कार निर्माण कम्पनीका पूर्वप्रमुख गोउनको ब्राजिल तथा फ्रान्समा पनि घर रहेको छ ।
लेबनान र जापानबीच सुपुर्दगी सन्धि नभएका कारण जापानी गोउनलाई जापान पठाउन कानुनी कठिनाइ रहेको लेबनानी न्यायालय स्रोतले बताएको थियो ।
‘लेबनान र जापानबीच सुपुर्दगी सन्धि भएको छैन,’ लेवनानको न्यायालय स्रोतलाई उल्लेख गर्दै एएफपी जनाएको छ । लेबनानी विदेश मन्त्रालयले जापानबाट लेबनानलाई गोउनका सम्बन्धमा अहिलेसम्म कुनै पत्राचार वा माग नआएको बताएको थियो ।
गोउनलाई सन् २०१८ को अन्त्यतिर अवैध रूपमा सम्पत्ति लुकाएको भन्दै छानबिनका लागि पक्राउ गरिएको थियो । तर पछि धरौटीमा रिहा गर्न जापानी अदालतले आदेश गरेपछि रिहा भई जापानमा नै बस्दै आएका थिए । गोउनले आफूमाथि लगाइएका आरोपलाई निरन्तर खण्डन गर्दै आएका छन् ।
प्रतिक्रिया