नेकपाद्वारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय

नेकपाद्वारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

नेकपाका सह प्रवक्ता सूर्य थापाले दिएको जानकारीअनुसार प्रदेश १ बाट तीन उम्मेदवार चयन गरिएको छ, जसअनुसार इन्दु गौतम (महिला), गोपी अछामी (दलित) र देवेन्द्र दाहाल (अन्य) बाट चयन भएका छन् भने प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।

यस्तै, प्रदेश ३ बाट महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ भने गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) र भगवती न्यौपाने (महिला) बाट लाई उम्मेदवार बनाइएको छ ।

प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ भने कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुमित्रा बिसी छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ भने यही पुस २० गते मनोनयन दर्ता गराइने जानकारी दिइएको छ ।