कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति


सत्तारुढ नेकपा र मधेसकेन्द्रित राजपाबीच चुनावी तालमेल भएको सन्दर्भले चर्चा पाइरहेकै बेला हालै सत्ताबाट बाहिरिएको समाजवादी पार्टी र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच पनि आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (१८ पुस) दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको हो ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।