आगलागीमा परी बेपत्ता भएका २८ जनाबारे अष्ट्रेलियामा गम्भीर चासो

आगलागीमा परी बेपत्ता भएका २८ जनाबारे अष्ट्रेलियामा गम्भीर चासो


अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको छ । देशको भिक्टोरिया राज्यअन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरुको खोजीका साथै उद्धार भइरहेको सम्बद्ध अधिकारीद्वारा जानकारी दिइएको सिन्ह्वाले जनाएको छ ।

भिक्टोरियाका मुख्यमन्त्री डानेल अन्ड्रेसले बेपत्ता भएकालाई जीवितै उद्धार तथा सुरक्षाका लागि धेरै चिन्ता लिइएको बताए । आगलागीका कारण उत्पन्न सङ्कट बढ्दै जाँदा बेपत्ताको सङ्ख्या पनि तलमाथि पर्न सक्ने उनको भनाई छ ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । तटीय सहरमा धुवाँ र खरानीले घरहरू ढाकिएकोले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म कम्तीमा १२ पुगेको पुष्टि भएको छ ।

डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सीयस रहेको छ । सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्तकालीन स्तरका दर्जनौँ डढेलो लागेको अधिकारीले जनाएका छन् ।