इरानी जनरल मारिने गरी भएको आक्रमणको चीन, रूस र सिरियाद्वारा निन्दा

इरानी जनरल मारिने गरी भएको आक्रमणको चीन, रूस र सिरियाद्वारा निन्दा


इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुने गरी अमेरिकाले शुक्रबार इराकमा गरेको हवाई आक्रमणको चीन, रूस र सिरियाले आलोचना गरेका छन् भने यूरोपेली सङ्घले थप हिंसा भड्किन नदिन सम्वेदनशील बन्न आग्रह गरेको छ ।

अमेरिकाले बग्दाद अन्तरराष्ट्रिय विमानस्थल नजिकै इराकी जनरल सुलेमानीलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । घटनामा सुलेमानीसहित ६ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य व्यक्तिबारे प्रष्ट जानकारी आउन सकेको छैन तर उक्त घटनामा इराकी विद्रोही नेता अबु महदी अल–मुमान्दीस पनि मारिएको एक इरानी टेलिभिजनले बताएको छ ।

अमेरिकाले सुलेमानीलाई ‘आतङ्ककारी’ समूहको नाइकेका रूपमा परिभाषित गरेको थियो । सुलेमानीविरूद्धको आक्रमणका लागि अमेरिकी राष्ट्रपतिले निर्देशन दिएको बताइएको छ ।

‘अन्तरराष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका एएनआईले जनाएको छ ।

त्यसैगरी उक्त अमेरिकी आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग गरेको फोनवार्तामा भनेको कुरालाई उद्धृत गर्दै रूसी माचार स्पुटनिकले लेखेको छ, ‘हामीले वग्दादमा अमेरिकी हवाई आक्रमणमा भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा तनाव थप बढाउने देखेका छौँ । सुलेमानीले इरानको राष्ट्रियताका बिषयलाई संरक्षण गर्न विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।’

सिरियाले पनि सुलेमानीविरूद्धको कारबाहीलाई ‘अमेरिकी आपराधिक आवेग’ बताएको छ ।

यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् ।

उहाँले भन्नुभयो, ‘इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधि र प्रतिकारका घटनालाई रोक्नुपर्छ । आगामी दिनमा कुनै पनि द्वन्द्वका घटनालाई अन्त्य गर्नुपर्छ ।’