बाढी–पहिरोले इन्डोनेसियामा ५३ को मृत्यु, मृत्यु करिब दुई लाख विस्थापित

बाढी–पहिरोले इन्डोनेसियामा ५३ को मृत्यु, मृत्यु करिब दुई लाख विस्थापित


इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा खोलाहरूको पानी जाकार्ताको होचा भागहरू रहेका वस्तीमा छिरेका कारण राजधानी जलमग्न बनेको थियो । वर्षाका कारण जाकार्ता वरपरका क्षेत्रमा पहिरोहरू समेत गएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापन निकायका प्रवक्ता एगुस विबोओका अनुसार वर्षापछि एक्कासी वस्तीहरू जलमग्न हुँदा नदीको किनार क्षेत्रका वासिन्दा डुबेर वा बिजुलीको झड्का लागि मृत्यु भएका हुन् । यद्यपि यो सङ्ख्या डिसेम्बर ३१ पछि शनिबारसम्मको हो । बान्टेन प्रान्तको लेबाकमा अझै एक जना परिवारको सम्पर्कमा नआएको विबोओले बताए ।

राष्ट्रिय विपत व्यवस्थापन निकायले पछिल्लो तथ्याङ्कमा बाढीका कारण विस्थापित व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार ६४ मा झरेको जनाएको छ । गत शुक्रबारको तथ्याङ्कमा बाढी तथा पहिरोका कारण विस्थापितको सङ्ख्या तीन लाख ९० हजार पुगेको उल्लेख गरिएको थियो ।

बाढी राजधानी शहर र वरपरका धेरै स्थानमा पसेको र यसको व्यवस्थापनमा तत्काल कठिनाइ भएको भए पनि विस्तारै उद्धार सेवा सबै स्थानमा पुगिसकेको उक्त निकायका व्यवस्थापकीय प्रमुख बमबाङ सूर्य पुत्रलाई उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ ।