‘नेकपाको निर्णयमा सांसदले सहमति जनाउने, प्रदेश ३ को राजधानी हेटौँडा नै हुने’

‘नेकपाको निर्णयमा सांसदले सहमति जनाउने, प्रदेश ३ को राजधानी हेटौँडा नै हुने’


नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारणा राख्ने प्रदेशसभासदस्यले राजधानीको नाम र स्थानको विषयमा अगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएका छन् । प्रदेशसभाको बैठक भोलि सोमबार (२१ पुस) बस्दैछ ।

नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिबार बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रदेशसभाका नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनको भनाई छ ।

यस्तै, पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसोहीअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

तथापि, प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको भन्दै फरक मत अघि सार्ने सङ्केत गरे भने प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने दाबी गरे । प्रदेशसभा सदस्य दीपक निरौलाले पनि पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको धारणा अघि सारे ।