राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारहरुद्वारा मनोनयपत्र दर्ता सम्पन्न

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारहरुद्वारा मनोनयपत्र दर्ता सम्पन्न


राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार (२० पुस) भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जनाएअनुसार आज बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुँदैछन् ।

बताइएअनुसार प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन/तीनको उम्मेदवारी परेको छ भने प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाले उम्मेवारी दर्ता गराएका छन् । यस्तै, प्रदेश नं ३ मा महिला र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक/एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

उता, कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।