प्रदेश ३ को राजधानी र नामका विषयमा आज प्रस्ताव पेश गरिँदै

प्रदेश ३ को राजधानी र नामका विषयमा आज प्रस्ताव पेश गरिँदै


प्रदेश ३ को राजधानी र नामका विषयमा प्रदेशसभामा आज (२१ पुस) छलफल हुने र भोलि मतदान हुने जानकारी दिइएको छ ।

प्रदेश ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयमा आइतबार सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रमको आयोजना गरेर दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन् । उनका अनुसार पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका, दोस्रो दिन ६ प्रस्ताव र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको छ ।

राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने सभामुख श्रेष्ठले बताए । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने उल्लेख गर्दै सभामुख श्रेष्ठले निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने जानकारी दिए ।

ज्ञातव्य छ, प्रदेश ३ को नाम बागमति र राजधानी हेटौँडा रहने भनी सत्तारुढ नेकपाले निर्णय गरेपनि ‘नेवाः ताम्सालिङ’ नामको पक्षमा आवाज उठाउँदै आएका समुदायद्वारा उक्त निर्णयको विरोधमा आन्दोलन शुरु गरिएको छ । आन्दोलित पक्षले पुष्पकमल दाहालद्वारा आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् ।