कांग्रेस विवाद : कति सार्थक होला असन्तुष्ट पक्षधर जिल्ला सभापतिहरुको भेला ?

कांग्रेस विवाद : कति सार्थक होला असन्तुष्ट पक्षधर जिल्ला सभापतिहरुको भेला ?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ‘मिचाहा’ कदमविरुद्ध असन्तुट पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेलले आफूपक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएर अन्तरदलीय लडाइँ शुरु गरेका छन् । पौडेलले देउवाविरुद्ध रहेका जिल्ला सभापतिहरुको भेला आज (२१ पुस) दिउँसो पार्टी कार्यालय सानेपामा आयोजना गर्दैछन् । भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु राजधानी आइसकेका सम्बद्ध पक्षले जनाएको छ । दुई दिनसम्म चल्ने भेलामा संस्थापन इतरका सबै जिल्ला सभापतिहरु सहभागी हुने सो पक्षको दाबी छ ।

१४औँ महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र व्यापक असमझदारी बढेको छ । असन्तुष्ट पक्षको जोडतोडका बाबजुद संस्थापन पक्ष टसमस भएको छैन, बरु आफूअनुकुलका अवैधानिक निर्णय लिन देउवा समूह थप उद्यत् देखिँदैछ । यसरी सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने तयारी पौडेल समूहले गरेको बुझिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच कांग्रेस केन्द्रीय समितिले महाधिवेशनका मिति तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेका हन् ।

१४औँ महाविधेशन आगामी मंसिरभित्रै हुनुपर्ने पौडेल पक्षको मागविपरीत अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ पुर्‍याउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय संस्थापन पक्षले लिएपछि कांग्रेसमा गुटगत झगडा पन्पिएको हो । कांग्रेसकै तेस्रो धार भनिने कृष्ण सिटौलाको समूहले समेत देउवाविरुद्ध पौडेलको अभियानमा साथ दिएको छ । तर, महामन्त्री डा. शशांक कोइरालालगायतको साथ पाएर पनि पौडेलको अभियानलाई सशक्त मानिएको छैन । यसै पनि देउवापक्षीय जिल्ला सभापतिहरुको असहयोग रहेको र अन्तिम क्षणमा आएर पौडेलले अडान छोडेर निजी स्वार्थमा सम्झौता गर्न सक्ने सम्भावना रहेको भन्दै कैयन प्रभावशाली नेताहरुले दुईपक्षीय झगडामा फस्नुबाट आफूलाई बचाउँदै आएका छन् । यसबाट अन्ततः आफ्ना निर्णयहरु जबर्जस्ती लादेर कार्यान्वयनमा लैजान सभापति देउवा सफल हुने अनुमान कांग्रेसी बुद्धिजीवीहरुले गरेका छन् ।