विगत केही महिनादेखि अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि सरकारले दुई अर्ब अष्ट्रेलियाली डलर छुट्ट्याएको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् । सरकारले उक्त रकमलाई डढेलोप्रभावित किसान, साना उत्पादक तथा डढेलोका कारण मानसिक रूपमा प्रभावित नागरिकलाई आवश्यक कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइने प्रष्ट्याएका छन् ।
डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा गत शुक्रबारदेखि एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ । मोरिसनले भने, ‘हामीले डढेलोबाट प्रभावित यस राष्ट्रको उत्थान र भविष्यमा आवश्यक पर्ने सबै क्षेत्रमा लगानी गरी देशलाई थप व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।’
अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्वास गरिएको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्ण रूपमा जलेका बताइएको छ ।
डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको एएनआईले जनाएको छ । डढेलोप्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइन्छ । त्यस्तै, डढेलोका कारण त्यहाँका जङ्गलमा रहेका ठूलो सङ्ख्यामा जनावरहरू मरेका छन्, यद्यपि मारिएका जनावरबारे फरक–फरक अनुमानहरू आएका छन् । यस वर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया