भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत

भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत


भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन् ।

राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए । यसअघि राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको प्रतिवेदनमा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा कुनै एक खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख थियो ।

बैठकले विधेयकको दफा ३८ को उपदफा २ को उपधारा १ बमोजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलको रूपमा तोकेको भलिबल खेललाई सो ऐनबमोजिम राष्ट्रिय खेलको रूपमा तोक्न सहमति जनाएको हो । सोबारे सहमति भएको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बैठकमा घोषणा गर्नुभएको थियो । यसअघि भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरे पनि खेलकूद विधेयकमा समेटिएको थिएन ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिएको थियो । समितिको बैठकमा सभापति घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सांसदहरु जीवनराम श्रेष्ठ, खगराज अधिकारी, रङ्गमती शाही, शान्तबहादुर थारु, अञ्जना विशङ्खेलगायत सहभागी हुनुहुन्थ्यो ।

pict:rss