इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ । घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।
इरानको दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्डसका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए । शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए ।
इरानी जनताबीच गार्डसको कुड्स बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानी इराकको राजधानी बग्दाद यात्राका क्रममा त्यहाँस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए ।
इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो भने मङ्गलबार अपरान्ह् केरमानमा इस्लाम धर्मअनुसार उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको एएफपीले जनाएको छ ।
प्रतिक्रिया