- विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानमा रहेका नेपाली नागरिकलाई दूतावासीय सेवा अझ छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नेपाली राजदूतावासमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
उक्त सहायता कक्षको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन न्यौरे, प्रवक्ता सचिन आचार्य, जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, मगर संघ जापान का अध्यक्ष भिक्टर थाडा मगर लगायत दूतावासका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानमा रहेका नेपालीहरूलाई दूतावासीय सेवा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले एनआरएनए जापानले आफ्नै कर्मचारी दूतावासमा खटाएर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले यो पहल केवल एउटा प्रशासनिक सहयोग मात्र नभइ जापानमा रहेका हरेक नेपालीको समस्या, जिज्ञासा र आवश्यकतामा हातेमालो गर्ने एनआरएनए जापानको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम भएको बताउनुभयो ।
‘जापानभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दूतावासीय सेवा लिँदा भोग्ने विभिन्न कठिनाइलाई कम गर्न र आवश्यक जानकारी तथा सहजीकरण प्रदान गर्न यो सहायता कक्ष स्थापना गरिएको हो। आगामी दिनमा पनि नेपाली समुदायको हितका लागि यस्ता कार्यलाई निरन्तरता दिनेछौं, अध्यक्ष लामिछानेले भन्नुभयो ।

त्यसैगरी कार्यक्रममा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एनआरएनए जापानको यस पहलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले नागरिकको सेवामा केन्द्रित भएर गरिएको यो कार्य अत्यन्तै सराहनीय रहेको बताउँदै दूतावास र एनआरएनए जापानबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘विदेशमा रहेका नेपाली नागरिकको सेवा र सुविधाका लागि सरकारी निकाय र समुदायका संस्थाबीचको सहकार्य आवश्यक हुन्छ । एनआरएनए जापानले देखाएको सक्रियता प्रशंसनीय छ। आगामी दिनमा पनि दूतावास र एनआरएनएबीच अझ मजबुत सम्बन्ध निर्माण गर्दै नेपाली समुदायको हितमा हातेमालो गर्दै अगाडि बढ्नेछौं’, कार्यवाहक राजदूत पौडेलले बताउनुभयो ।
नागरिक सहायता कक्षमार्फत दूतावासमा आउने सेवाग्राही नेपालीहरूले आवश्यक जानकारी, कागजी प्रक्रिया सम्बन्धी सहजीकरण तथा विभिन्न दूतावासीय सेवासम्बन्धी मार्गदर्शन प्राप्त गर्न सक्ने जनाइएको छ। यस पहलले जापानमा रहेका नेपाली समुदायलाई थप सहज, व्यवस्थित र नागरिकमैत्री सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया