अन्ततः सान्चेज स्पेनको प्रधानमन्त्री निर्वाचित

अन्ततः सान्चेज स्पेनको प्रधानमन्त्री निर्वाचित


स्पेनको संसद्ले मंगलबार (७ जनवरी) भएको निर्वाचनमा समाजवादी नेता पेद्रो सान्चेजलाई झिनो मत अन्तरले अर्को कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । साञ्चेज सन् १९७० को दशकमा प्रजातन्त्रको स्थापनापछि स्पेनमा गठबन्धन दलको सामान्य बहुमतबाट प्रधानमन्त्री बनेका छन् ।

गत वर्ष निर्वाचन भएदेखि नै कामचलाऊ प्रधानमन्त्रीको रूपमा रहेका सान्चेजले प्रधानमन्त्रीका लागि ३५० सदस्य सङ्ख्याको संसद्मा १६७ मत प्राप्त गरेका छन् । उनको विपक्षमा १६५ मत परेको छ भने १८ सांसद मतदानमा अनुपस्थित रहेका छन् । अनुपस्थित सांसदहरूमा स्वतन्त्रताका लागि आन्दोलन गर्दै आएका क्याटलोनिया र बास्क क्षेत्रका सांसद्हरू रहेका छन् ।

स्पेनमा लामो समय शासन गरेका फ्रान्सिस्को फ्रान्कोको निधनपछि स्थापना भएको प्रजातान्त्रिक व्यवस्थामा उहाँले कडा धारको वामपन्थी पार्टी पोदेमोससँग गठबन्धन गरी सरकार बनाउने भएका छन् । उनलाई प्रधानमन्त्री निर्वाचित गर्न साञ्चेजको समाजवादी पार्टी र ३५ सीट भएको पोदेमोसको सहायक भूमिका रहेको छ भने अन्य केही साना दलको पनि मत परेको छ ।

स्पेनको संसद्मा भएको प्रथम मतदानबाट समाजवादी नेता पेद्रो साञ्चेजको पुनः प्रधानमन्त्री बन्ने चाहनालाई आइतबार अस्वीकार गरिएकोे थियो । प्रधानमन्त्रीका लागि विश्वासको मत लिने दोस्रो अबसरका रूपमा संविधानले गरेको व्यवस्थाअनुसार मङ्गलबार भएको निर्वाचनले उनलाई प्रधानमन्त्री निर्वाचित गरेको हो ।

एकैपटकमा विश्वासको मत नआएमा उक्त उम्मेदवारले चाहेमा मतदान भएको अर्को दुई दिनभित्र दोस्रोपटक विश्वासको मत लिनका लागि मतदान हुने स्पेनको संविधानमा व्यवस्था रहेको छ । कूल ३५० सदस्य रहेको स्पेनी संसद्मा बहुमतका लागि १७६ मत आवश्यक पर्छ । आइतबार संसद्मा भएको मतदानमा नेता साञ्चेजले १६६ मत प्राप्त गरेका थिए भने १६५ मत विपक्षमा परेको थियो । मतदान प्रक्रियामा १८ जना अनुपस्थित रहेका थिए भने एक सदस्यले संसद्मा उपस्थित भएर पनि मतदानमा भाग लिएका थिएनन् ।

युरो क्षेत्रको चौथो ठूलो अर्थतन्त्र स्पेनमा गत वर्ष अप्रिल र नोभेम्बरमा भएका निर्वाचनबाट पनि कुनै दलले सरकार गठनका लागि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया लम्बिएको थियो । एएफपीका अनुसार साञ्चेजको दलले नोभेम्बर १० मा सम्पन्न संसदीय निर्वाचनमा १२० सीट मात्र ल्याउन सफल भएको छ । यो उक्त दलले अप्रिलमा ल्याएको सदस्य सङ्ख्याभन्दा तीन सदस्य कम हो ।