अमेरिकी शहर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्रीलाई अमेरिकाले प्रवेषाज्ञा (भिसा) दिन अस्वीकार गरेको छ । विदेशमन्त्री जावेद जरिफ बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको धारणा राख्न जाने कार्यक्रम रहेको थियो । आफूलाई अमेरिकाले प्रवेशाज्ञा नदिएको जरिफ स्वयमले मंगलबार जानकारी दिएका एएफपीले जनाएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि इरानी विदेशमन्त्री जरिफलाई उद्धृत गर्दै संयुक्त राज्य अमेरिकाले उनलाई भिसा प्रदान नगरेको बताएका इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बताइएअनुसार यस निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ ।
इरानी विदेशमन्त्रीले भनेका छन्, ‘हामीलाई थाहा भए अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिवलाई फोन गरी जरिफलाई प्रवेषाज्ञा दिन समयका कारण असम्भव देखिएकाले उहाँलाई प्रवेषाज्ञा नदिने बताइएको थियो ।’
जवाफमा राष्ट्रसङ्घका महासचिवले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको पोम्पेओलाई बताएका इरानी वरिष्ठ कूटनीतिज्ञलाई उदृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था आइएसएनएले लेखेको छ । यद्यपि जरिफको प्रवेषाज्ञा अस्वीकृत भएकोबारे वासिङ्टनद्वारा आधिकारिक पुष्टि भएको भने छैन ।
अमेरिकाले इराकको राजधानीमा ड्रोन आक्रमण गर्दा इरानी विशेष सुरक्षा बलका कमाण्डर जनरल कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिका र इरानबीच केही वर्ष यता देखिँदै आएको तनाव थप बल्झिने देखिएको छ ।
प्रतिक्रिया