अर्थमन्त्रीमा युवराजकै निरन्तरता !

अर्थमन्त्रीमा युवराजकै निरन्तरता !


नेपालको इतिहासमा सर्वाधिक असफल र अलोकप्रिय अर्थमन्त्री मानिएका युवराज खतिवडा पुनः अर्थमन्त्री रहिरहने सङ्केतहरू देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको कामबाट निकै प्रभावित हुनुभएको र खतिवडालाई अर्थमन्त्री राख्दा मात्रै देशको समृद्धिले शिखर चुम्न सक्छ भन्ने विश्वासमा रहनुभएकोले अर्थमन्त्री बदलिने सम्भावना न्यून भएको हो । सचिवालयको बैठकमै ‘आफूले अर्थमन्त्री बनाउन खतिवडाभन्दा राम्रो मान्छे नपाएको’ भनी ओलीले भन्नुहुँदा वरिष्ठ नेता माधवकुमार नेपालले ‘सुरेन्द्र पाण्डे हुनुहुन्छ नि, गज्जब राम्रो गर्नुभएको हो पहिले पनि’ भन्ने जवाफ दिनुभएको थियो । सुरेन्द्रको नाम माधव नेपालको मुखबाट सुन्नेवित्तिकै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘अर्थशास्त्रबारे ज्ञान भएका व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा लगाउन खोजिरहेको छु ।’

ज्ञातव्य छ, सुरेन्द्र पाण्डेलाई एक सफल अर्थमन्त्रीका रूपमा आमजनताले समेत स्मरण गर्दछन् । पाण्डेको कामको त्यसताक चौतर्फी प्रशंसा हुने गर्दथ्यो । तर अर्थमन्त्री बन्न ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली पनि इच्छुक हुनुहुन्छ । उहाँहरूले प्रधानमन्त्रीसमक्ष आफ्नो इच्छा पनि जाहेर गरिसक्नुभएको छ । उता वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा जानुहुने भएपछि श्रेष्ठ नै अर्थमन्त्री बन्नसक्ने अडकलबाजी पनि शुरु भएको छ । तर युवराज खतिवडा स्वयम् भने केपी प्रधानमन्त्री रहेसम्म आफू अर्थमन्त्री रहिरहनेमा पूर्ण विश्वस्त रहेको पाइएको छ ।

रिजर्भ रहने स्वभावका खतिवडा स्वयम्ले आफ्ना निकटस्थहरूसँग राष्ट्रपति विद्या भण्डारीले आफूलाई अर्थमन्त्रीमा यथावत राख्न खोजेको बताउने गर्नुभएको छ । राष्ट्रियसभामा मन्त्रीपरिषद्बाट नियुक्त हुने एक जना सदस्य रिक्त रहेको र सो पदमा नियुक्ति दिन राष्ट्रपति विद्या भण्डारीले वचन दिनुभएको पनि खतिवडाले अति निकटस्थहरुसँग बताउनु भएको छ । यसरी खतिवडाले राष्ट्रपति आफ्नो दाहिना भएको बताउनु र उता प्रधानमन्त्री केपी ओलीले युवराजबराबर ‘योग्य’ मानिस नेभेटेको बताउनुले फागुनपछि युवराज खतिवडा नै अर्थमन्त्री रहिरहने सम्भवना बढाएको हो । युवराजका कारण देशको अर्थव्यवस्था कसरी सङ्कटग्रस्त अवस्थामा पुग्दैछ भन्ने उहाँहरूले जानकारी पाउन अर्को ६ महिना प्रतीक्षा गर्नु नपर्ने अर्थविदहरूको भनाई छ ।