इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको उड्डयन प्राधिकरणले जनाएको छ ।
अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को युक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित यसमा यात्रा गरिरहेका १७६ जनाको मृत्यु भएको छ ।
इरानको नागरिक उड्डयन सङ्गठनका प्रमुख अलि अबेदजादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ, ‘हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौँ ।’ ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने विषयमा अझै निर्णय गर्न बाँकी उनले जनाए ।
युक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस ७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ ।
अबेदजादेहले भने– ‘अन्तर्राष्ट्रिय उड्डयन कानूनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।’
इरानी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार इरानी उड्डयन सङ्गठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ तर यस अनुसन्धानमा युक्रेनी प्राविधिकहरू उपस्थित रहन सक्नेछन् ।
‘ब्लाक बक्स’को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।
प्रतिक्रिया