जिल्ला सभापतिहरूको सुझावले आफ्ना मागमा बल पुगेको पौडेलको दाबी

जिल्ला सभापतिहरूको सुझावले आफ्ना मागमा बल पुगेको पौडेलको दाबी


नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तीन दिनसम्म चलेको परामर्श बैठकले केन्द्रीय कार्य समिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिको पराम्परा कायम राख्न नेतृत्वलाई सुझाव दिएको छ । जिल्ला सभापतिहरूले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका शीर्षनेताहरूमा सहमति कायम हुनुपर्नेमा जोड दिएको थियो ।

कांग्रेस संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल पक्षले भावी योजना तय गर्नका लागि सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको थियो ।

‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिएर बोलाइएको जिल्ला सभापति भेला चौधौँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितताका लागि सहमतिमा महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने निष्कर्षमा पुगेको धादिङका सभापति रमेश धमलाले जानकारी दिए । बैठकमा कुनै नेता वा समूहमा केन्द्रित नभई सिङ्गो पार्टीलाई केन्द्रविन्दुमा राखेर छलफल भएको दाबी पनि उनले गरे ।

बैठकको पहिलो दिन जिल्ला सभापतिका साथै वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएका थिए भने दोस्रो दिन नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र डा. शेखर कोइरालाको पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राखेका थिए ।

करिब चार दर्जनभन्दा बढी जिल्ला सभापतिको सहभागिता र समर्थन रहेको बैठकका निष्कर्ष भोलि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्रका रूपमा बुझाइने नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए ।

केन्द्रीय समिति बैठकले बहुमतका आधारमा यही पुस ११ गते पार्टीको चौधाँै महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एक वर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको थियो ।

बुधबार (२३ पुस) बैठक समापनपछि असन्तुष्ट पक्षका नेता पौडेलले पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी विधिसम्मत ढङ्गले पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने र बहुमतको निर्णय सच्याउनुपर्ने जिल्ला सभापतिको सुझावले आफूहरूको मागमा थप बल पुगेको दाबी गरे । केन्द्रीय समितिबाट बहुमतका आधारमा भएका निर्णय पार्टीको हितमा नभएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता वितरण २०७७ साल मङ्सिरसम्म अल्मल्याएर राख्ने र त्यसपछि अन्तिम अवस्थामा सबै तहका निर्वाचन गर्ने कार्यतालिकाको नियतमाथि नै शङ्का रहेको र त्यो अव्यावहारिक रहेको दोहोऱ्याए । आफूहरू सिङ्गो पार्टीलाई सुधारेर मुलुकको पहिलो पार्टी र जनताको भरोसाको केन्द्र बनाउने अभियानमा रहेको पौडेलको दाबी थियो ।