राजपरिवारको ‘वरिष्ठ’ सदस्यता परित्याग गर्ने बेलायती राजकुमारको घोषणा

राजपरिवारको ‘वरिष्ठ’ सदस्यता परित्याग गर्ने बेलायती राजकुमारको घोषणा


बेलायती महारानी एलिजाबेथका नाति प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमती मेगन राजपरिवारको विशिष्ट सदस्यको भूमिकाबाट अलग हुने र आफूहरूलाई आर्थिक रूपले स्वतन्त्र तुल्याउने घोषणा गरेका छन् ।

प्रिन्स ह्यारीद्वारा बुधबार (८ जनवरी) एकाएक जारी गरिएको यस सार्वजनिक वक्तव्यले ब्रिटेनको राजदरबार हतप्रभ बन्न पुगेको छ ।

प्रिन्स ह्यारी र मेगनले एक वक्तव्य जारी गर्दै अब उनीहरू बेलायत र उत्तरी अमेरिकामा समय ब्यतीत गर्ने निर्णयमा पुगेको बताएका थिए । यो निर्णय धेरै महिनादेखिको आन्तरिक छलफलपछिको निर्णय भएको वक्तव्यमा उनीहरूले उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तीय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्नेछौँ ।’ बेलायत र उत्तर अमेरिकाबीच समय मिलाउनुको उद्देश्य छोरालाई उपयुक्त वातावरणमा हुर्काउनु रहेको ह्यारीको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो जोडीले राजपरिवारका अन्य कुनै सदस्यसँग सल्लाह तथा छलफल नगरी यस्तो घोषणा गरेका बताइएको छ । यस घोषणाबाट राजपरिवारका वरिष्ठ सदस्यहरू अत्यन्त दुःखी र निरास बनेका बीबीसीले जनाएको छ ।

गएको अक्टोबरमा राजकुमार ह्यारी र मेगनले मिडिया स्पट लाइटका कारण आफूहरु समस्यामा रहेको सार्वजनिक रुपमा उल्लेख गरेका थिए । ज्ञातव्य छ, मेगन अमेरिकी अभिनेत्री हुन् ।