‘ह्विप’ लगाएरै भए पनि नेकपाको निर्णयअनुसार नाम र राजधानी पारित गराउने तयारी

‘ह्विप’ लगाएरै भए पनि नेकपाको निर्णयअनुसार नाम र राजधानी पारित गराउने तयारी


सत्तारूढ नेकपा संसदीय दल प्रदेश नं ३ को बैठक हेटौँडामा बसेको छ । आज (२४ पुस) बिहान ८ बजे शुरु भएको बैठकमा प्रदेशको नामकरणका साथै स्थायी राजधानीको विषयमा तत्कालै प्रदेशसभाको बैठकमा प्रक्रियागत रूपमा टुङ्गो लगाउन प्रदेशसभाका सदस्यहरूबीच विचार–विमर्श गरी सर्वसहमतिबाट निकास दिनेतर्फ पहल गरिने बताइएको छ ।

नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले दिएको जानकारीअनुसार हिजो बुधबार नै प्रदेशसभामा स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । हिजोको बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा व्यापक छलफल भएको थियो ।

प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि नेकपाका प्रदेशसभा सदस्यहरूबीच सहमति बन्न नसक्दा टुङ्गो लाग्न नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई नेकपाको सचिवालयले तोकेरै सुझाव दिएपछि तरङ्गित बनेको प्रदेससभाको माहोल हेटौँडाकै पक्षमा गएको अनुभूति गरिएको छ । प्रदेशसभामा छलफलका क्रममा आफ्ना धारणा राख्ने अधिकांश प्रदेशसभा सदस्यले पनि स्थायी राजधानीका लागि हेटौँडा नै उपयुक्त हुने धारणा राखेका छन् ।

प्रदेश ३ को प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाई बहुमत भए पनि महत्वपूर्ण विषय भएका कारण प्रमुख प्रतिपक्षी कांगे्रस र अन्य दलहरूबीच पनि सहमति गरेर अधिकतम सहमतिमा निर्णय गरेर सबै दलहरूलाई समेत अपनत्व दिलाउने पक्षमा मुख्यमन्त्री डोरमणि पौडेल रहेका नेकपासम्बद्ध सुत्रको भनाई छ ।

मुख्यमन्त्री पौडेलले नेकपा सचिवालयको सुझावअनुसार नै निर्णय गराउने र त्यसका पक्षमा विपक्षी दलहरूलाई समेत सहमत गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका प्रदेशसभा सदस्यहरू रीना गुरुङ, रीता माझी, विवेकशील नेपाली दलका सदस्य रमेश पौडेल, नेमकिपाका सुरेन्द्रराज गोसाइँलगायतका प्रदेशसभा सदस्यहरूसँग समेत छलफल गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

राजधानी र नामका सम्बन्धमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँको एकै स्वर हुने सङ्केत देखिए पनि नेकपाका केही सदस्यहरू राजधानीका सम्बन्धमा सचिवालयको निर्देशनविपरीत रहेकाले पार्टीले मतदानको समयमा ‘ह्विप’ लगाएरै भए पनि सचिवालयको निर्णयअनुसार नै नाम र राजधानी पारित गराउने तयारीमा रहेको बुझिएको छ ।