(निवन्ध)नभेटिएकै जाती हुन्थ्यो

(निवन्ध)नभेटिएकै जाती हुन्थ्यो


– निमेष गिरी,
समय निरन्तर बढिरहेको छ । आखिर किन जीवनमा टुसाउन लागेका बीजहरु अँकुराउन सक्दैनन् । चोइटिएका हृदयहरु जोडिन लागेका हुन्छन् । अनायस यात्राको मार्गमा मित्रताको सम्बन्धसँगै नौलो र मीठो सम्वन्धका सोंचहरु, जुनी जुनी सहयात्री बन्दै जीवनको भोग गर्ने कल्पनाको तरेलीसँगै पुनः किन टुक्रिन्छन् सपनाहरु ? सृष्टिका हरेक सृजनाका हरेक प्राणीहरुले त यो भोग्दैनन् होला ?

केवल मेरा भाग्यमा जति नै यस्ता वेदनाका रासहरु थुप्रिए पनि अरुको भाग्यमा नहोस् । किनकि, म चोइटिएको हृदय हुँ, जति चोट परे पनि सहने कोशिस गर्ने छु । त्यसैले कहिलेकाँहि अनुभूत हुन्छ मनमा, सल्बलाउँछ मष्तिस्कमा जीवनको उर्जाशील समयमा मृत्युको अवलोकन र अनुभूति गर्न । बाँचेर हारेको जीवन जिउनुभन्दा मृत्युको मुखमा छटपटाएको अनुभूति नै सुखद हुन्छन् होला ? धेरै मानिसहरु आफ्नोर् इच्छा, चाहाना र आवश्यता पूर्ति होस् या नहोस् तर पूरा गर्ने दौडमा निरन्तर दौडिन्छ र एक दिन गुमनाम मृत्यवरण गर्दछन् ।

तर स्वार्थविहीन मनमा कसैप्रति जन्मिएको असीमित, अपार अनि अन्नत मायाका कोपिलाहरु फक्रनु पूर्व नै तुषारो लाग्दछ । अनि कसरी फुल्न, हाँस्न र खेल्न सक्दछन् प्रेमका कोपिलाहरु ? तिनीहरु सृष्टिको पूर्ण संरचनाबाट हराउन चाहन्छन्, ओइलाउन चाहन्छन्, होइन र ? हो, थाहा छ, मष्तिसकमा र मनमा प्राप्ति मात्र प्रेमको परिभाषा हुन सक्दैन ? यसमा त्याग, समर्पण हुनुपर्दछ । तर जब सपनाहरु कल्पनाको पखेटा लगाएर खुल्ला गगनमा विचरण गर्दछन, त्यसैले मानवीय स्वभावको कारण त्यसलाई स्वीकार्न सक्दैनन् नि, हैन र ? थाहा थियो यस्तै हुनसक्छ । प्रतिउत्तर यस्तै रहन सक्छ ? किनकि प्रकृति र परिस्थितिको यस्तै चोटिला प्रहारहरुले छिया-छिया मनहरु बोक्दै यो मर्त्यलोकमा भौतारिएको यात्री र पात्र म हुँ । त्यसैले पुनः त्यही चोट बोक्न विवश छु र चोट स्वीकार्य छ ।

किन, गर्भभित्रै निरन्तर तुहिन्छन् मेरा सपनाहरु ? किन अँकुराउनुपूर्वै मर्छन् मनका ईच्छहरु ? यदि यस सृष्टिमा साँच्चै दैव छ भने, हे दैव, दुःखमाथि अझ मलाई दुःख दे, तर उनका हरेक सपना, ईच्छा अनि चाहाना पूर्ण गरिदे । तेरो ताण्डव नृत्य मेरो जीवनकालागि स्वीकार छ तर उनलाई एक लेस पनि दुःख दिने धृष्ठता नगर्, यदि तेरो उनलाई दुःखदिने प्रयासमात्र भयो भने ईश्वरको मलामी निकाल्ने छु ।

दोष कसलाई दिनु र ? दोष दिने गर्दिनँ पनि, दोष केवल मेरो हो, यो कालखण्डमा आएर आफ्नो भावनालाई छताछुलल पोख्ने मेरो धृष्ठता, जसका कारण आज एक्लो, शून्य र निरस जीवन डोर्‍याउँदै छु । मानिस स्वास फेर्न नसकी घिट-घिट हुँदा पनि बाँच्न चाहन्छन् । तर मसँग अब रसपूर्ण जीवन केही छैन, प्राप्तिको अपेक्षा केही नरहँदा नरहँदै पनि समकालीन यात्राको गोरेटोमा दौडँदा साहारा दिने हात, आँशुमा रुमाल दिने ईच्छा, अनि जलेको चितामाथि दुर्इ थोपा आँशु बगाउने परिभाषामा नपरेकी उनी भूगोलको गोलार्द्धको यही बिन्दु र रेखामा उभिएर छोटो दुरीको यात्रा त साथ दिन्छिन् तर लामो दुरीको यात्राको आग्रह तिरस्कृत र अस्वीकृत छ । त्यसैले म मृत्यु उत्सव नमनाएर कसरी खुशीको गीत गाउन सक्छु ? त्यसैले भन्नै पर्छ “सपना भुलाई सारा आँशु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ” अनि मष्तिस्कको एक कुनामा गुन्जन्छ “भेटिएर छुटनु भन्दा, नभेटिएकै जाती हुन्थ्यो” ।