बालबालिकाको किन्डर ओलम्पिक सम्पन्न

बालबालिकाको किन्डर ओलम्पिक सम्पन्न


साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएको छ । पौष १२ गते र माघ ८ गते गरि दुई दिन संचालन भएको विभिन्न प्रतियोगितामा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

खेलकुदको आधार स्कुल भन्ने नाराका साथ बालबालिकाहरुलाई खेलकुदमा अभिरुची बृद्धि गर्दै भोलिको आधार खडा गर्ने उद्धेश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएका छन् ।

अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एसोशियसनको आयोजनामा भएको ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड, रिङ्ग दौड, बल लिएर दौड गरेका थिए । यस्तै बालबालिकाहरुले कराते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन गरेका थिए ।

प्रतिस्पर्धामा सहभागि सम्पूर्ण बालबालिका तथा बिद्यालयलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले ट्रफी, प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए । बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्धेश्यले स्वर्ण पदक प्रदान गरिएको थियो । यस्तै सहभागि सम्पूर्ण विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रमको सफलताको शुभकामना तथा बधाई दिंदै नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ आजका बालबालिका अवको ६, ७ बर्ष पश्चात राष्ट्रिय खेलाडीको रुपमा उदय हुने भएको भन्दै खेलाडी उत्पादनमा संस्थाले गरेको कार्यको प्रशंसा गरे । श्रेष्ठले ओलम्पिक संग जोडीएको यस प्रतियोगितालाई आगामी दिनमा नेपाल ओलम्पिक कमिटिले आफ्नो कार्यक्रममा राख्ने बताए ।