कोरोना भाइरसबाट चीनमा १७ को मृत्यु, ५७१ संक्रमित

कोरोना भाइरसबाट चीनमा १७ को मृत्यु, ५७१ संक्रमित


चीनमा कोरोना भाइरसको संक्रमणका बिरामीको संख्या ५७१ पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरूले उक्त संक्रमणबाट बिरामी हुनेहरूको संख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जंगली जनावर र पशुबजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ । यसका साथै मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छन् । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब पाँच हजार नौ सयजनालाई उपचारार्थ भर्ना गरिएको थियो ।

यसबाट निको भएर करिब एक हजारजना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर, उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।

बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेईबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको हो ।

त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा पनि यस संक्रमणका एक–एकजना भेटिएका छन् ।
रासस–सिन्ह्वा