चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिनुभयो ।
हिमालयले चार्टर्ड उडान गरिरहेका तीन गन्तव्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्थाअनुरूप सेवा दिनेछ ।
कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए । हिमालयले चीनका विभिन्न शहरसँगै हाल बंगलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सीधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो ।
प्रतिक्रिया